७ महिना देखि ग्यारेजमै थन्कीयो एम्बुलेन्स, सर्वसाधरण हेलीकप्टर चार्टर गर्न वाध्य

निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगाको एउटा एम्वुलेन्स ७ महिना देखी ग्यारेजमा थन्किएको पाइएको छ । ओखलढुंगा सेवा समाज कतारले संस्थाको नेपाल शाखालाइ प्रदान गरिएको एम्बसलेन्स काठमाडौंको एक ग्यारेजमा थन्किएको पाइएको हो ।

सेवा समाजले २०७४ साल माघमा ओखलढुंगा सेवा समाज नेपाललाई हस्तान्तरण गरेको स. १ं च १४५३ नम्बरको एम्बुलेन्स काठमाडौंको जोरपाटी नयाँवस्ती स्थित साजन अटो केयरमा थन्किएको पाईएको हो । कतारमा वैदेशिक रोजगारको क्रममा रहेका ओखलढुंगाका युवाहरुबाट संकलन गरिएको ९ लाख ६७ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको थियो ।

ओखलढुंगा सेवा समाज कतारका पुर्व अध्यक्ष अशोक तामाङले एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सम्भव भएमा जिल्लाका ८ वटै पालिकालाई एम्बुलेन्स सहयोग गर्ने बताएका थिए । तर, पछि सेवा समाजले अन्य स्थानिय तहलाई एम्बुलेन्स दिएको भने छैन ।

ओखलढुंगा सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति गठन गरि समिति मार्फत एम्बुलेन्स सञ्चालन गरिएको थियो । चलाउन शुरु गरेको एक महिना मै एम्बुलेन्स ठुलो दुर्घटनामा परेको ओखलढुंगा सेवा समाज नेपालका अध्यक्ष श्रेष्ठले बताए । त्यस पछि मर्मत गरेर सञ्चालन गरिएको तर एम्बुलेन्सको इन्जिनमै समस्या हुँदा सञ्चालन गर्न कठिनाई भएको उनको भनाइ छ । एम्बुलेन्स डेढ वर्ष देखि सेवा समाज कतारका पुर्व अध्यक्ष अशोक तामाङको जिम्मामा रहेको श्रेष्ठकाे भनाइ छ  ।

परिवारको रोजीरोटीका लागि कतार पुगेका युवाहरुले बगाएको पसिनाबाट खरिद गरिएको एम्बुलेन्सको सदुपयोग हुनु नसक्नु दुखद भए पनि जिल्लामा रहेका अन्य एम्वुलेन्सहरुको अवस्था पनि उस्तै रहेको छ । जिल्लामा अन्य एम्वुलेन्स भए पनि प्राय जसो विरामीलाई थप उपचारका लागि काठमाडौं तथा अन्यत्रका ठूला अस्पताल लैजानु पर्दा हेलीकप्टर चार्टर गर्नु पर्ने अवस्था रहेको छ ।

मा प्रकाशित