शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३२ जना प्रतिवादी

निकासखबर संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो।

प्रहरीले हाल हिरासतमार रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ। अन्य केहीको पनि नाम प्रतिवेदनमा रहे पनि अझै उनीहरुविरुद्ध अनुसन्धान आवश्यक पर्ने प्रहरीले जनाएको छ। अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँणसमेत १६ जना पक्राउ परेका छन्। उनीहरू सबै प्रहरी हिरासतमा छन्। शरणार्थीका नाममा ठगी गरेको भन्दै रायमाझी, पूर्वगृहमन्त्री बखाँण, पूर्वगृहसचिव पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, हज कमिटिका अध्यक्ष शमशेर मिया र शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।

यस्तै सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, टोपबहादुरका छोरा सन्दीप रायमाझी, गोबिन्द चौधरी र रामशरण केसी हिरासतमा छन्। सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेपछि उनीहरुको अदालतमा बयान अघि बढ्नेछ। त्यसपछि थुनछेक बहस सुरु हुन्छ।

जिल्ला अदालतले मुद्दाको फैसला गरुन्जेल उनीहरुलाई थुनामै राख्ने कि थुनाबाहिर राखेर फैसला गर्ने भन्ने आदेश दिनेछ।

मा प्रकाशित