काठमाडाैं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले सोमबार विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाबारे निरन्तर फलोअपमा रहेका अखबारले आज पनि यसलाई नछुटाइ ‘कभरेज’ गरेका छन् ।
नयाँ प्रधान सम्पादक पाएको कान्तिपुर दैनिकले बजार नपाएर बारीमै तरकारी सुकेको तस्बिरलाई निकै प्राथमिकतापूर्वक मुख पृष्ठमा छापेको छ । भुटानी शरणार्थी प्रकरण चलिरहँदा जापानमा राजवंशी कोटा खुलेको भन्दै ठगी गरिएको अर्को विषय सतहमा आएको छ, जसलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचारअनुसार राजवंशी कोटाका नाममा झापा र मोरङका भित्री गाउँका ४० युवासँग गिरोहले तीन करोड ठगी गरेको छ ।
मदिरा सेवन गरी सवारी चलाएर पैदलयात्रीको ज्यान लिएको अभियोग लागेका काठमाडौं बूढानीलकण्ठका पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको अर्को खबर पनि कान्तिपुरमा छ ।
कान्तिपुरले प्रधान सम्पादक परिवर्तनको आफ्नै घरभित्रको खबरलाई पनि पहिलो पृष्ठमा छापेर पाठकलाई जानकारी गराएको छ । आइतबारसम्म कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारीमा सुधीर शर्मा रहे पनि सोमबार उनलाई बिदा गरेर उमेश चौहानलाई दिइएको थियो । चौहान करिब दुई वर्षदेखि कान्तिपुरमा सम्पादककै रूपमा कार्यरत थिए ।
नयाँ पत्रिका दैनिकले संसदको पहिलो अधिवेशनमा भएको खर्च र उपलब्धिको समीक्षा गरेको छ । समाचार अनुसार अधिवेशनका क्रममा ३५ करोडभन्दा बढी खर्च भएको थियो । राज्यको ढुकुटीबाट यति ठूलो रकम खर्च भए पनि नतिजा भने शून्य छ ।
यसबाहेक नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका र फरार सबैविरुद्ध राज्यविरुद्धको अपराध मुद्दा चलाइने भएको, प्रदेश सरकारमा फेरि मन्त्री र राज्यमन्त्री थप्ने होड चलेको समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
अन्नपूर्णले रुग्ण उद्योगको पुनः सञ्चालन सम्भावनाबारे मन्थन गरेको छ भने राजधानीमा कांग्रेसभित्रको कचिंगलबारे खबर छ ।