नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्दैनः  ओली

निकासखबर संवाददाता
काठमाडाैं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको  नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभामा सुरु भएको छलफलका क्रममा उनले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गरे ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय कार्यक्रमकोसमेत समीक्षा गर्न नसकेको बताए । उनले भने, “१५औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो भएन ? कति उपलब्धि हासिल गर्न सकियो सकिएन समीक्षा गर्नुपर्नेमा त्यसमा सरकारको नीति तथा कार्यक्रम चुकेको छ ।”
उनले कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र त्यसमा सबैको साथ तथा सहयोग हुनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने र निर्दोष व्यक्ति फस्न नहुने बताए । “दोषीमाथि दृढताका साथ कारबाही होस् । ढाकछोप गर्ने धृष्टता नगरियोस्”, उनले भने ।
उनले राष्ट्रिय समस्या समाधानका लागि सहमति, सहकार्य र एकताबाट मात्रै अगाडि बढ्न सकिने धारणा राखे । उनले सदन चलाउन तथा देशका समस्या समाधानका लागि शीर्ष नेताका बीचमा छलफल भएको जानकारी पनि दिए । तीन दलका शीर्ष नेता राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्ने गरेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्नुपर्ने सुझाव दिए । उनले न्याय र समृद्धि नै लोकतन्त्र भएकाले आफ्नो दलले त्यसलाई आत्मसात् गरेको उल्लेख गरे ।
मा प्रकाशित