उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसी उपाध्यक्षबीच सिंहदरबारमा भेट

निकासखबर संवाददाता

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणको क्रममा रहेका एमसिसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा बु्रक्सले एमसिसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायको आवश्यक सहयोग हुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले एमसिसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए ।

भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरु संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पक्षमा गृह मन्त्रालयको तर्फबाट हुनसक्ने सहयोगका लागि ब्रुक्सले आग्रह गरेका थिए । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराएको उनको भनाइ छ ।

भेटमा उपाध्यक्ष बु्रक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।

मा प्रकाशित