काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी यतिबेला काठमाडौं प्रहरी परिसरमा छन् । राती नै मेडिकल जाँच गरेको उनलाई प्रहरीले आजै सोमबार १० बजे अदालत लैजाने तयारी गरेको छ।
नेपाल प्रहरीको पक्राउ पूर्जीलाई बेवास्ता गर्दै ११ दिनदेखि फरार रहेका रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्य उच्च तहका नेता हुन् । उनीसँगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् ।
रायमाझी भन्दा अगाडि नेपाली कांग्रेसका नेता पुर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएर पनि फरार केहीको खोजी जारी रहेको छ ।
गृह जिल्ला र आफ्नो निर्वाचन क्षेत्र समेत रहेको अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै गएका रायमाझी कार्यक्रम सकेर सभामुख घिमिरेसँगै काठमाडौ फर्कने तयारीमा थिए । तर,उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको र छोरा सन्दीप रायमाझी समेत पक्राउ परिसकेको कारण उनले त्यहीँबाट काठमाडौको ‘बाटो’ मोडे । बाटो मोडेसँगै उनले आफ्नो मोबाइल फोन बुटवलमै सीमकार्ड झिकेर फ्याँकिदिए । रुपन्देहीमा एक जना प्रहरी अधिकृतसँग पनि भेटेका रायमाझी त्यसपछी ‘छापामार’ शैलीमा गायव भए।
पक्राउ पूर्जी जारी भएपनि अनुकुल समयमा प्रहरी सम्पर्कमा आउने वा सिधै अदालतमा उपस्थित हुने भन्नेमा थिए रायमाझी । यो प्रक्रियाका लागि कानुनी परामर्श लिएका उनले विकल्पमा ३ जना व्यक्तिप्रती आशा राखे । पहिलो, केपी शर्मा ओली, दोस्रो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तेस्रो प्रहरी आइजीपी वसन्त कुँवर ।
यहि विश्वासमा उनले पार्टी अध्यक्ष ओलीलाइ पहिलो सम्पर्क गरे। ओलीले पनि बालकोट बोलाए । तर,बालकोटमा उनलाई एक रात पनि बस्न दिइएन। स्रोतका अनुसार अर्घाखाँचीबाट रुपन्देही आएका टोपबहादुर अन्य दुई जना कर्याकर्ता सहित सामान्य हिसाबले काठमाडौ आए । बाटोमा अनुसन्धान बिभागका प्रहरीले ‘ट्र्याक’ गरे । तर प्रहरीको सम्पर्कमा आफै आएको ठानेर उनीहरुले हस्तक्षेप गरेनन् । रायमाझीको गाडी जडिबुटी हुँदै बालकोट पुग्यो ।
रायमाझीले ओली भेट्न आउँदाको दुःख बेग्लै छ। शुरुमा कलंकीदेखि बल्खु हुँदै कोटेश्वर आएको गाडी पुन फर्केर सातदोबाटो हुँदै गोदावरी तर्फ लाग्यो र हरिसिद्दीबाट मोडियो । स्रोत भन्छ(‘एकैपटक ओली निवास पस्दा गार्हो हुने देखेर केहि सजगता अपनाउन खोजेको देखिन्छ।’ भित्री बाटोमा अल्मलिने भएपछि गाडी पुनः ग्वार्को निस्केर चक्रपथ हुँदै जडीबुटी र त्यसपछि बालकोट पुग्यो ।
बालकोटमा अध्यक्ष ओलीलाई एकाथरी नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई बोक्दा थप समस्या हुनसक्ने भन्दै हच्काइदिए । जसको परिणाम टोपबहादुरले बालकोटमा बास पनि पाएनन् । स्रोत भन्छ(‘रायमाझी आएका हुन् तर बसेका होइनन्। अध्यक्षज्युको पनि कानुनलाई सहयोग गर्नुस् तपाईं निर्दोष भए कानुनले जोगाउँछ भन्ने सुझाव थियो तर उहाँ निस्केर गएपछी सम्पर्कविहीन हुनुभयो।’
त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग सम्पर्कमा जान चाहेका रायमाझीलाई प्रचण्डको सचिवालयले नै रोक्यो । रायमाझीको प्रस्ताव प्रचण्ड सम्म पुगेपनी उनले कुनै चासो दिएनन् र रायमाझीले आइजीपी कुवरलाइ फोन लगाए ।
आइजिपी कुँवरले जतिसक्दो छिटो सम्पर्कमा आउनुस भनेपछि रायमाझीले ‘म दोषी छैन,भोलि आफैं उपस्थित हुन्छु तर ‘गिरफ्तार’ नभनी स्वेच्छिक गिरफ्तारी भन्नुहोला । कानुनलाई सघाउन तयार छु’ भनेर फोन राखे । आइजिपीलाई फोन गरेपछि रायमाझीले काठमाडौ पुनः छाडे ।
रायमाझीले काठमाडौ छाडेको र प्रहरीलाई झुक्याएको एमाले अध्यक्ष ओलीलाई समेत मन परेन र सांसद र पार्टीबाट निलम्बन गर्न तम्सिए ।
यो सबै कुरालाई नियाली रहेको प्रहरीले थप सक्रियता बढायो । यहि बिचमा रायमाझीले ‘बिरामी’ भएको पत्र पठाएर अर्को चलाखी गर्न लागेको प्रहरीले बुझ्यो । प्रहरीले पत्र लैजाने ब्यक्तिको खोजी गर्न थालेपछि रायमाझी आफै शनिबार काठमाडौ भित्रिए ।
रायमाझीका नजिकका साथीले भने अनुसार आइतबार दिउँसो नै रायमाझी प्रहरीकोमा जान चाहन्थे । तर,बूढानीलकण्ठ पासीकोटमा आफ्नै जिल्लावासीको घर भएकोले यो तनावग्रस्त अवस्थामा केही समय सुस्ताएर सहज बाटोबाट प्रहरीकोमा जाने भन्दाभन्दै आइतबार साँझ नै उनी पक्राउ परे।
२०३४ सालदेखि राजनीति गरेका रायमाझी नेकपा मसाल,नेकपा एकता केन्द्र,नेकपा माओवादी हुँदै हाल नेकपा एमाले केन्द्रिय सचिव छन् । १० बर्षे जनयुद्धमा उच्च तहका नेता मध्यमै पर्ने रायमाझी पार्टी भित्र इमान्दार नै देखिन्थे । सरकारसँगको पहिलो शान्ति वार्तामा समेत सक्रिय रायमाझी अर्घाखाँचीबाट ४ पटक सम्म चुनाव जितेका नेता हुन् । उनी उपप्रधानमन्त्री सहित उर्जा मन्त्री र त्यसभन्दा अगाडी भौतिक योजना मन्त्री,शान्ति मन्त्री समेत भएका थिए। नेपाल भ्युजडटकमबाट