सरकारबाट भ्रष्टाचारविरुद्ध बोल्नेको मुख थुन्ने काम भएको एमाले अध्यक्ष ओलीको आरोप

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धमा बोल्ने विपक्षीलाई धम्की दिने काम भइरहेको आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संसदमा केही दिनअघि मात्र स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको बताए । ‘ताजुब त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको विरुद्धमा बोल्नुभयो, सरकारको विरुद्धमा बोल्दा धम्की मात्रै गएर अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो रु अहिले पनि विपक्षीहरूको मुख थुन्ने, भ्रष्टाचारको विरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो,’ ओलीले भने ।

उनले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भए पनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको बताए । ओलीले सरकारी सम्पती निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर कमिसन खानेकुरा सह्य नहुने चेतावनी पनि दिए । उनले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए । ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप पनि लगाए । उनले नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै आपत्ति पनि जनाए ।

‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन । किनभने त्यसको अदालती छानबिनको प्रक्रिया बाँकी हुन्छ,’ ओलीले भने, ‘हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका विरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन् ।’

मा प्रकाशित