अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाकोमृत्यु, एक जनाको अवस्था गम्भीर

निकासखबर संवाददाता

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका तीन जनाकाे ज्यान गएकाे हाे ।

भुमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको उनकाे भनाइ छ ।

आगलागी परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ ।

यस्तै गरी, सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीमा परेर चार वटा ४ भैंसी जलेका छन् भने आठ सय भन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो निभाइएको छ ।

मा प्रकाशित