लैंगिक हिंशा र वालविवाह अन्त्यका लागि कालिमाटीमा सार्वजनिक प्रतिवद्धता

निकासखबर संवाददाता

सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको सात वटै वडामा यो कार्यक्रम सञ्चालन हुनेछ । सोमबार वडा नम्बर १ को लक्ष्मीपुरमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिलाको नेतृत्व, क्षमता र उद्यमशिलता विकास, लैंगिक हिंशा विरुद्ध सचेतना र वाल विवाह न्यूनीकरणका विषयमा अभिमुखिकरण, अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा सामुदायीक विकास केन्द्रको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

 

कार्यक्रममा बालविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि जनप्रतिनिधी, कर्मचारी, स्थानीय महिला तथा सरोकारवालाहरुले सार्वजनिक प्रतिवद्धता पनि जनाएका छन् । हिंशामुक्त समाज निर्माण र बाल विवाह अन्त्यका लागि सहभागिहरुले सार्वजनिक प्रतिवद्धतामा सामुहिक हस्ताक्षर गरेको वडा अध्यक्ष रविलाल वस्नेतले जानकारी दिए ।

कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै डिला बुढाथोकीले आफु पहिलो पटक यसप्रकारको कार्यक्रममा सहभागि भएको जनाउदै हिंशा सहेर नबस्ने र गाउँ समाजमा पनि आफुले थाहा पाएको कुरा जानकारी गराउने बताइन् । यस्तै सहभागि ढुलेनी चलाउनेले पनि पहिलो पटक कार्यक्रममा सहभागि भएको जनाउदै वालविवाहले महिलाको जीवनमा नराम्रो असर पार्नेरहेछ भन्ने विषयमा जान्न पाएको बताइन् ।

वडा अध्यक्ष बस्नेतले महिला लक्षित कार्यक्रमहरुलाई अझै प्राथमिकतामा राख्ने र महिला सशक्तीकरणका लागि सबै संग हातेमाले गरेर अघि बढ्ने बताए । यस्तै कार्यपालिका सदस्य डिल्ली कामी, वडा सदस्यहरु चेत बहादुर बुढा,धन बहादुर पुन, वडा सचिव पुजा रिजाल लगाएतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र कुमार शाही, इलाका प्रहरी कार्यालय कालिमाटीका इन्चार्ज सशीराम वलीले अभिमुखिकरण गरेका थिए ।

कालिमाटीको वडा नम्बर २ मा २६ गते, वडा नम्बर ४ मा २७ गते, वडा नम्बर ३ मा २८ गते कार्यक्रम तय गरिएको छ । यस्तै २९ गते वडा नम्बर ५ मा, ३० गते वडा नम्बर ६ मा र ३१ गते वडा नम्बर ७ मा कार्यक्रम सञ्चालन हुने सामुदायीक विकास केन्द्र नेपालले जनाएको छ । विपन्न, दलित, जनजाती, पिछडिएका वर्गका महिलाहरु, शहिद परिवार, एकल, द्धन्द पिडित तथा अपांगता भएका महिलाहरु, अल्पसंख्यक समूदाय, सिमान्तकृत, वञ्चीतिकरणमा परेका तथा जोखिम अवस्थामा रहेका महिलाहरु र कोभिड १९ को प्रत्यक्ष मारमा परेका महिलाहरुलाई प्राथमिकता दिएर वडा कार्यालयहरुले सहभागि छनौट गरेका छन् ।

मा प्रकाशित