सांसद शर्माको खुलासाः नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न खोजिदैछ

निकासखबर संवाददाता

काठमाडौं  । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरुको बयान फेर्ने प्रयास भइरहेको खुलासा गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थीको विषय जोडिएकाले अभियुक्तहरुलाई भेट्न जाँदा उनीहरुको बयान फेर्ने प्रयास भइरहेको थाहा पाएको उनले खुलासा गरे । ‘मेरो क्षेत्रसँग केही सम्बन्धित केस भएकाले के रहेछ भनेर बुझ्नका लागि थुनामा राखिएका मान्छेलाई भेट्न गएको थिए,’ सांसद शर्माले भने, ‘उनीहरुलाई त्यहाँ राखेर बयान गर्ने बेलामा सरकारी वकिलका अगाडि बयान समेत परिवर्तन गर्नको निम्ति प्रेसर डालिराखिएको अवस्था छ ।’

सांसद शर्माले हिरासतमा बयान फेर्ने प्रयास भइरहेकाले अभियुक्तहरुलाई सदनमा ल्याएर मुख्य अभियुक्त को हुन् भनेर बोल्न लगाउनुपर्ने माग पनि गरेका छन् । ‘यो राष्ट्रिय स्क्यान्डल भइसकेको हुदा सम्भव हुन्छ भने सदनमा ल्याएर कमसेकम त्यसका दुईटा भरियाहरुलाई मुख्य नायकहरु को हुन भन्ने कुरा एक्स्पोज गर्ने लगाउँनुपर्छ,’ सांसद शर्माले भने ।

यो गम्भीर विषय भएकाले पार्टी भन्दा माथि उठेर दोषीलाई कारबाही गर्न इमान्दारपूर्वक सहयोग गर्नुपर्ने उनले बताए । पार्टी र व्यक्ति भन्दा पनि देश र जनता महत्वपूर्ण हुने भन्दै उनले जनताको आँखामा छारो हालेर झुक्याउँन नहुने तर्क गरे । ‘कुन पार्टी भन्ने कुरा महत्वपूर्ण हैन, राज्य महत्वपूर्ण हो, देश महत्वपूर्ण हो र नागरिक महत्वपूर्ण हुन्,’ सांसद शर्माले थपे, ‘बाहिरबाट जनताले हामीलाई कुरीकुरी भनिरहेको अवस्थामा यो सदनका तपाई हामी सबै इमानदार भएर कमसेकम दुई वटा पात्रहरुलाई कस्टडीबाट यहाँ ल्याएर बयान गरियोस्, हामी सुन्न चाहन्छौं ।’

यो विषयले नेताहरुलाई गिज्याइरहेको भन्दै सांसद शर्माले जनताको अगाडि शिर निहुराएर बस्नुभन्दा दोषीलाई कारबाहीको दायरमा ल्याएर शिर ठाडो पारेर हिड्न सक्नुपर्ने धारणा राखे । चुनाव जितेर पहिलो पटक सदन प्रवेश गरेका सांसद शर्मा सदनमा यसअघि पनि जनहितका सवालमा खरो उत्रँदै आएका छन् ।

मा प्रकाशित