नक्कली शरणार्थी प्रकरणः तानिदै शिर्षस्थ, बाक्लिदै वार्ता

निकासखबर संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले शीर्ष नेताहरुबीचको भेटवार्ता तीब्र बन्नुका साथै उनीहरु घण्टौं छलफलमा जुट्न थालेका छन् ।

एकअर्कालाई सत्तोसराप गर्न पछि नपर्ने नेताहरु एकाएक बन्द कोठामा छलफलमा जुट्न थालेपछि नक्कली शरणार्थी प्रकरण यत्तिकै सेलाउने त होइन ? आशंका बढ्न थालेको छ ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेस–एमालेका शीर्ष नेतादेखि नेताका सन्तान परेको आरोपपछि राजनीतिक वृत्त गर्माएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ’बाददल’का छोरा प्रतिक थापा, सचिव टोपबहादुर रायमाझी र उनका छोरा र कांग्रेस नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनकी पत्नी मञ्जुको नाम जोडिएपछि राजनीतिक क्षेत्रमा अनेक आशंका गरिएका छन् ।

बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने, टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ उनीहरु फरार छन् । टोपबहाददुरका छोरा भने प्रहरी नियन्त्रणमा छन् । फरार नेता र नेताका सन्तानहरु कहाँ छन भन्ने सूचना सर्वसाधारणलाई छैन् । तर, सुरक्षा निकायदेखि सम्बन्धित पार्टीका नेताहरुलाई के होला ? यो आम प्रश्न हो ।

शीर्ष नेता र उनीहरुका सन्तानहरु नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि बाक्लिएको राजनीतिक भेटवार्ताले थुप्रै आशंका उब्जाएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेपछि ओलीले आरोपितलाई बचाउन आफू नलागेको दाबी गरेका छन् ।

ओलीले नक्कली शरणार्थी प्रकरणमा आफूले कसैलाई बचाउन लागि नपरेको दाबी गरेपनि प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ता किन र के का लागि भन्ने विषय खुल्न सकेन् । तर, प्रधानमन्त्री प्रचण्ड आफैले भने ओलीले नक्कली शरणार्थी प्रकरणमा चासो राखेको दाबी गरेका छन् । प्रचण्डले प्रधानमन्त्रीसँग यस्ता व्यक्तिलाई बचाउ भन्न नसक्ने समेत दाबी गरे ।

प्रचण्डले ओलीले यो प्रकरणमा चासो राखेको दाबी गर्दै गर्दा सत्ता गठबन्धनको बैठक समेत बस्नुले यो प्रकरण सामसुम हुने त होइन भन्ने प्रश्न पेचिलो बन्न पुगेको छ ।

कांग्रेस नेता बालकृष्ण खाण दम्पत्ति नै यसमा जोडिन पुगेका छन् । तर, खाण आफैले भने यसकालागि खण्डन गर्दै विज्ञप्ति नै जारी गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिवदेखि फरार पूर्वमन्त्रीहरुको अवस्था हेर्दा मात्रै पनि यो प्रकरणमा राजनीतिक दाउपेच तीब्र बन्ने आशंका बलियो बन्न पुगेको छ । तर, प्रधानमन्त्री प्रचण्डले कसैको दबाबमा पर्दैन भनेर जसरी बोलेका छन त्यसरी काम गर्लान ? जनताले सरकारबाट अपेक्षा गरे अनुसार नक्कली शरणार्थी प्रकरण सुल्झिएला ? प्रश्न झन झन गम्भीर बन्न पुगेको छ ।

मा प्रकाशित