काठमाडौं । भोलि वैशाख २४ गते आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।
पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ ।
सञ्चार तथा सूचनाा प्रविधि मन्त्रलायको आयोजनामा आइतवार दिउँसो ठीक १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विशेष समारोह आयोजना गरिने भएको छ ।
सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने दुुई जनालाई बरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।