काठमाडौं । सोमबार मध्याह्न १२ बजे राजधानीमा मुसलधारे वर्षा भैरहेको । वीर अस्पतालबाट महाबौद्धतर्फ जाँदै गर्दा नजिकै रहेको चैत्य मन्दिरमा एक वृद्ध काँधमा नाम्लो बोकेर निधारमा हातको पाली लगाई पानी छेक्दै केही नियालिरहेका थिए ।
कुममा फाटेको रातो धर्के सट, फाटेको खैरो रंगको टोपी लगाएका उनी विरक्तिएर मन्दिरको भित्तामा अडेस लगाएर बसेका थिए । उनी थिए काठमाडौंमा भारी बोकेर जीवन निर्वाह गर्दै आएका एक जना भरिया । नाम बताउन नचाहने ती भरिया दोलखाका हुन् । उनी हरेक दिन झैँ आज पनि पिठ्युँमा भारी बोकरे हिँडिरहेका छन् ।
सन्दर्भ: अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हक–अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । विशेषगरी आजको दिन वर्षभरी काम गर्ने मजदुरहरुलाई उनीहरु कार्यरत संघ– संस्थामा विदा दिइने गरिन्छ । उनी मजदुर दिवसका बारेमा जानकार पनि छन् । तर यो दिवसले उनलाई भने केही फरक पारेन । दैनिक भारी बोकेर जीविकोपार्जन गर्ने उनलाई एक दिन पनि भारी नबोकी बस्न मन लाग्दैन । वास्तवमा भन्नु पर्दा भारी नबोकी उनको कोठामा चुलो बाल्न समेत धौ–धौ पर्छ ।
ठहिँटीमा डेरा गरि बस्ने उनको दैनिकी बिहान सात बजेदेखि प्रारम्भ हुन्छ । उनी बिहान उठ्ने बित्तिकै असन, इन्द्रचोक पुग्छन् । न्यूरोड, असन, इन्द्रचोक, विशालबजार लगायतका गल्लि–गल्लिमा उनी व्यापारीहरु खोज्दै हिँड्छन् ।
उमेरले ५० वर्ष नाघेका उनी पसलहरुमा सामान किन्न आउने ग्राहकले भरिया खोजे भने खुशी हुँदै १६ वर्षको ठिटोको जस्तै जोश देखाएर भारी उठाउँछन् ।
विगत २२ वर्षदेखि उनले भरियाको काम गरिरहेका छन् । भारियाकै काम गरेर उनले चार छोराछोरीलाई राम्रो शिक्षा–दीक्षा दिएका छन् । उनी भन्छन् – ‘भारी बोकेरै जेठी छोरीलाई नर्सिङ पढाएँ, जेठो छोराले प्लस टु पास गर्यो, कान्छी छोरी ११ र कान्छो छोरा ९ मा राम्रै स्कूलमा पढाएको छु ।’
उनले भारी बोकेर प्रायः दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । ‘भारी र दुरी अनुसार पैसा कमाइ हुने गर्छ । एउटा भारी बोक्दा कहिले ५० रुपैयाँ आउँछ, कहिले दुई सय रुपैयाँकमाइ हुन्छ ।’ न्यूरोड–महाबौद्ध क्षेत्रमा विशेषगरी होलसेल पसलहरु भएको ठाँउ भएका कारण त्यहाँ किनमेलका लागि देशभरका व्यापारीहरुको भिडभाड हुने गर्छ । त्यही भिडमा भरियाहरुको पनि बाक्लै उपस्थिति देखिन्छ । भारि बोक्न उनीहरु तँछाडमछाड गर्छन् ।
त्यही भिडमा भेटिएका अर्का भरिया हुन् बाजुराका धने शिंह । उनी पनि मजदूर दिवसको दिन सोमबार दिउँसो काठमाडौंमा पानी परिरहेको बेला निथ्रुक्क भिज्दै आफूभन्दा ठूलो भारी बोकेर हिँडेका थिए । काम पाइएको बेला न झरी न घाम उनी पनि यत्तिकै खटिने गर्छन् । उनले विगत ७ वर्षदेखि भारी बोकेरै गुजरा चलाउँदै आएका छन् ।
बजार बन्द हुने दिन मात्रै उनको पिठ्युँ र थाप्लो खालि हुन्छ । अन्य दिन उनी बिहानदेखि बेलुकासम्म भारी बोकेर दैनिकी गुजार्छन् । भारी बोकेरै उनले ५ जना परिवारलाई काठमाडौंमा पालिरहेका छन् । यी दुई महानगरका दुई प्रतिनिधिमूलक पात्र हुन् । नेपालभर यसरी नै दिनभर श्रम गरेर छाक टार्ने श्रमिकलाई न कुनै दिवसले छोएको छ, न त कुनै पर्वले ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ ।
विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने नेपालमा पनि ट्रेड युनियनका विभिन्न संघले विभिन्न कार्यक्रम तथा सभा गरि श्रमजीवीका विषयमा भाषण गर्ने गर्छन् । ट्रेड युनियनले गरेका आन्दोलन तथा अन्य कार्यक्रममा मजदुरहरुलाई उनीहरुलाई प्रयोग पनि गर्ने गर्छन् । तर अन्य अवस्थामा भने मजदुरका समस्या मजदुरसँगै रहने गर्छन् ।