कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन

निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए।

चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ।

आज प्रतिनिधिसभामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा आज संसद् बैठकमा विवाद भएको थियो। सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भई स्वास्थ्योपचारमा रहेको संसद् सचिवालयलाई जानकारी गराएको बताएपछि सत्तापक्षीय सांसदहरू उठेर विरोध गरेका थिए। ​

उनीहरूले फरार अपराधीलाई संसद्ले विरामी भनेर झूटो बोल्न नमिल्ने बताएका थिए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कोइरी विरामी भएको भनेर संसद्ले भन्नु हास्यास्पद हुने बताएका थिए।

नेकपा एमालेका सांसद रघुजी पन्तले आफूहरू फरार अपराधीलाई संरक्षण गर्नुपर्छ भन्ने पक्षमा नरहेको भन्दै पक्राउ गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए

त्यसपछि सभामुखको अनुरोधलाई बेवास्ता गरी सांसदहरूले विरोध जारी राखेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

ती कुनै विषयमा निष्कर्षमा नपुर्‍याई संसद् अधिवेशन नै अन्त्य गरिएको छ ।

मा प्रकाशित