संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव

निकासखबर संवाददाता

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्य आयात हुन नसक्दा भोटखोलामा खाद्यान्य अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । ती उत्पादित खाद्यान्यले अधिकांस स्थानीयलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथांका नाका करिब १६२ किलोमिटर टाढा पर्दछ । किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का परेका छन् । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।

९१ घरपरिवारलाई राहत वितरण

खाद्यान्य अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न संघ संस्थाको सहयोगमा वडा नम्बर १ र २ का ९१ परिवारलाई राहत वितरण गाउँपालिका अध्यक्ष भोटेले बताए । खाद्यान्य अभाव भएका थुदाम, रिदाक र छुमुसुर ९१ घरपरिवारलाई राहत वितरण गरेको उनको भनाइ छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रलयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो ।

त्यस्तैरी हाइ हिमाल्यन एक्स्पिडिसन प्राइभेट लिमिटेडका मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले नगद १ लाख २० हजार रुपैयाँ, द इस्ट फाउडेसनबाट नगद २० हजार रुपैयाँ र नेल्होस नेपाल संस्थाबाट नगद ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेले जानकारी दिए । उक्त क्षेत्रमा उत्पन्न भएको खाद्यान्य संकटलाई व्यवस्थापन गर्न थप राहत लागि जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस सहित ५०० क्विन्टल चामल कोशी प्रदेश सरकारलाई भोटखोला गाउँपालिकाले माग गरेको अध्यक्ष भोटेले बताए । सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पु¥याइने खाद्यन्य सामग्री समेत अचाक्ली महँगो भएको अध्यक्ष भोटेले बताए ।

नाकाबन्दले चिनियाँ बजारबाट वस्तु आयात हुन नसक्दा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न अभाव देखिएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।

मा प्रकाशित