कांग्रेसको गढ तनहुँमा वाग्लेको लोकप्रिय मत

निकासखबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तीन क्षेत्रमा आइतबार भएको उपनिर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरूवाती अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

दिउँसो १ बजे सम्मको मतपरिणाम आउँदासम्म वाग्ले १२ हजार ७०५ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ७ हजार ६४७ मतसहित पछ्याईरहेका छन् ।

यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । वाग्ले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ५८ मतान्तरले अगाडि छन् । एमालेका उम्मेदवारले पाएको भन्दा उनी ८ हजार ४८५ ले बढी हो ।

मतपरिणाम हेर्दा वाग्लेका प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवारले पाएको जम्मा मत ११ हजार ८६७ रहेको छ । प्रतिस्पर्धी दुवै उम्मेदवारको मत जोड्दासमेत वाग्ले ८३८ मतले अगाडि छन् ।

वाग्ले तीनै व्यक्ती हुन जसले ५० वर्ष लामो कांग्रेसको पारिवारिक विरासत तोड्दै निर्वाचनको मुखमा रास्वपा प्रवेश गरेका थिए । तनहुँ–१ को प्रारम्भिक नतिजा हेर्दा रास्वपाले परम्परागत दल कांग्रेस र एमालेलाई धक्का दिने देखिन्छ ।

विश्वको अर्थराजनीतिबारे गहिरो ज्ञान भएका वाग्लेको व्यक्तित्व, रास्वपाप्रति देखिएको जनलहर, कांग्रेसभित्रको आन्तरिक कलह र गठबन्धन दल र विपक्षी एमालेको रणनीतिका कारण योपटक कांग्रेसलाई ठूलो धक्का लाग्ने देखिन्छ ।

चितवन–२ र बारा–२ मा पनिमतगणना सुरू भइसकेको छ । उपनिर्वाचनले वर्तमान सत्तासमीकरणमा खासै असर नगरेपनि २०८४ को मध्यावधिमा दलहरूलाई खतराको घन्टी बज्ने स्पष्ट संकेत गरेको छ । यस निर्वाचनले नयाँलाई अवसर दिएको छ । पुरानालाई विश्राम लिन सन्देश दिएको देखिन्छ ।

जनमतले गठबन्धनको संस्कृतिलाईसमेत अस्वीकार गरेको देखिन्छ । दलीय सिन्डिकेट, आन्तरिक अन्तर्विरोध र सत्ता स्वार्थ राजनीतिप्रतिको वितिष्णा जनमतबाट शान्तिपूर्ण विद्रोह खोजेको संकेत पनि यो निर्वाचनले देखाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको तनहुँ–१ कांग्रेसको गढ मानिन्छ । २०४८ को निर्वाचनदेखि अपराजित यात्रा तय गरेका पौडेल २०७४ को निर्वाचनमा आन्तरिक कलहका कारण पराजित भए । त्यतिबेला गोविन्दराज समूहलाई कांग्रेसले विश्वासमा लिन नसक्दा कांग्रेसको गढमै एमाले विजयी भएको थियो ।

मंसिरमा भएको निर्वाचनमा कांग्रेस, माओवादीसहितको समर्थनमा विजयी भएका पौडेल २५ फागुनमा राष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । तर आफ्नो गढ मानिएको क्षेत्रमै वाग्लेले लोकप्रिय मत पाएपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । गठबन्धन बनाएर निर्वाचनमा भाग लिँदासमेत वाग्ले झण्डै दोब्बर मतले अग्रता लिएपछि गम्भीर चुनावी समीक्षा गर्नुपर्ने पक्षमा कांग्रेसका युवा नेताहरू रहेका छन् ।

मा प्रकाशित