धरानमा खानेपानीको हाहाकार

निकासखबर संवाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनश्रमदानबाट नगरवासीलाई पानीको अभाव हुन नदिएको दावी गरेपनि अहिले धरानका प्रायः वडाहरूमा खानेपानीको चरम् अभाव भएको देखिएको छ ।

धेरै वडाका स्थानीयले हप्तौंदेखि पानी नआएको बताएका छन् । धरान–११ स्थित ऐश्वर्य मार्गका दिलकुमार भूजेलका अनुसार चैतदेखि नै पर्याप्त मात्रामा पानी आएको छैन ।

वैशाखदेखि त झनै पानी आउन छाडेको स्थानीय बताउँछन् । पानीको चरम् अभाव भएकोले साथीभाइको शौचालय धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

धरान–७ शान्तिपथका स्थानीयको धारामा १० दिनदेखि पानी झरेको छैन । पानी नझरेपछि स्थानीयहरू पानी किनेर प्रयोग गर्न बाध्य छन् । धरान–७ का स्थानीय विमल श्रेष्ठले पानी नआएपछि ३ ट्याङ्कर पानी किनिसकेको जानकारी दिए ।

धरान–१३ का स्थानीय हरि कार्कीले चैत अन्तिमदेखि नै खानेपानी अभाव भएको बताए । उनले गत वर्ष पानी अभाव नभएको भएपनि यो वर्ष पानी आउन छाडेपछि अचम्ममा परेको बताए । धरान–१३ का प्रायः बस्तीमा खानेपानीको समस्या रहेको उनको भनाइ छ ।

धरान–१७, ९, १०, १६ लगायत प्रायः वडाहरूमा खानेपानी अभाव रहेको छ । धरानमा केही दिनअघि वडाध्यक्षहरूले पत्रकारसँगको भेटघाटमा प्रायः वडामा पानी समस्या रहेको बताएका थिए ।

धरान–७ का स्थानीय विमल श्रेष्ठले अन्य वडामा तालिका अनुसार पानी आएपनि शान्तिपथमा नआएको बताए । खानेपानीको स्रोत त अभाव रहेपनि धरान खानेपानी व्यवस्थापन बोर्डको व्यवस्थापकीय कमजोरीले थप समस्या भएको स्थानीयको भनाइ छ ।

कतै पानी आउनु वा नआउनुमा वितरण प्रणाली वैज्ञानिक नभएको बताइन्छ । धरानको खानेपानी समस्या समाधान गर्न नगरप्रमुख राईको प्रयास राम्रो भएपनि पर्याप्त नभएको स्थानीयले बताएका छन् ।

नगरप्रमुख राईले निर्वाचित हुनुअघिको आन्दोलनमा र निर्वाचनका क्रममा एसियाली विकास बैङ्कको ऋण अनुदानमा सञ्चालित खानेपानी परियोनामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका थिए । उनको मुख्य मुद्दा छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गर्ने थियो । तर, उनी निर्वाचित भएको वर्षदिन पुग्दा पनि छानबिन सुरु गरेका छैनन् ।

मा प्रकाशित