काठमाडौं । चितवन–२ मा रोकिएको मतदान सुचारु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर चितवन–२ को उपनिर्वाचनका उमेदवार रवि लामीछानेले माफी मागे पछि मतदान सुचारु भएको हो।
रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर उनले माफी मागेका हुन् । माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान सुचारु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि अवस्था सहज बनेको छ । नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो।
चितवन–२ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो।
मतदान भइरहेको बेला रास्वपाका कार्यकर्ताहरुले मतदानस्थल वरपर घण्टी बजाउँदै हुटीङ गर्दै होहल्ला भएपछि तनावको स्थिति उत्पन्न भएपछि दुई स्थानमा मतदान रोकिएको थियो ।
रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए। मतदानस्थलमा नाराबाजी गरेको भन्दै अन्य दलले त्यसको विरोध गरेपछि तनाव उत्पन्न भएको थियो ।