काठमाडौं । कृष्णकुमारी परियार उमेर ७३ वर्षकी एकल महिला हुन् । काठमाडौं महानगरले सम्पत्ति खोसेपछि पीडित बनेकी उनको परिचय यति नै काफी छ । नागरिकतामा घर बानेश्वर उल्लेख छ । तर, अहिले उनको त्यो ठेगाना र परिचय पनि महानगरले भत्काइदियो । बानेश्वर चोकको मुख्य सडकमा करोडौंको सम्पत्ति भएकी कृष्णकुमारी हाल अरूको घरमा शरण लिने अवस्थामा पुगेकी छन् ।
महानगरका मेयर बोलन शाहको ठाडो निर्देशनमा घर भत्किएपछि उनले सबै गुमाएकी छन् । ‘परिवार छिन्नभिन्न भए, सम्पत्तिको टुक्रो (जमिन) पनि मेयरको डोजरले खाइदियो,’ कृष्णकुमारीले भनिन् । महानगरले घर भत्किएपछि छोरा र बुहारी बिदेसिए । हातमा जग्गाको लालपुर्जा छ तर, साथमा जमिन छैन । कागजमा उनको नाममा अहिले पनि २ आना ३ पैसा जमिन छ । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा २९ पुस २०७९ मा उनको टहरामा महानगरको डोजर चलेपछि घरबारविहीन हुन पुगिन् ।
२५ वर्ष पहिला बानेश्वरमा डेढ रोपनी जमिन भएकी कृष्णकुमारीसँग अहिले २ आना ६ पैसा जमिन छ । त्यो जमिनमा पनि महानगरले डोजर चलाएर सडक बनाइदिएपछि उनको हात न जग्गा छ न घर नै छ । आमा भुन्टी परियारको नाममा रहेको जग्गा समेत महानगरले डोजर चलाएर रातारात सडक बनाइदियो । महानगरले जग्गामा डोजर चलाएपछि उनी पटक–पटक न्यायको खोजीमा सरकारी अड्डामा धाइन् तर, ओठे आश्वासनबाहेक केही पाइनन् ।
‘बानेश्वरमा डोजरले घर भत्काइदिएपछि न्याय माग्दै महानगर गएँ तर, बालेनले भेट्नै मानेनन्,’ कृष्णकुमारी भन्छिन्, ‘यो सहर हाम्रोभन्दा पनि शासकको मात्रै रहेछ । हामीलाई त बाँच्नै गाह्रो भो, महानगरले तड्पाएरै मार्ने भयो ।’
महागरले घर भत्काएपछि सुरुमा वडाले अब तपाईं सुकुम्बासी हुनुभयो, महिनाको ५० हजार आउँछ अब मज्जाले आराम गरेर बस्नुस् भनेर वडाध्यक्षले आश्वासन दिए । ‘मलाई सुकुम्बासी हुनु छैन, कि क्षतिपूर्ति चाहियो, कि मेरो सम्पत्तिभन्दा उल्टो हप्काए,’ उनले भनिन् ।
उनी आफ्नो जग्गाको विषयमा नापी विभागमा पनि बुझ्न गइन् । सुरुमा विभागका कर्मचारीले ५० हजार रुपैयाँ लाग्छ भने । उनका अनुसार कर्मचारीले एक घण्टा कुराएपछि तपार्इंको जग्गाको नक्सा नै हरायो भनेर पठाए । मालपोतबाट खिचेर ल्याएको ६४ नम्बरको कित्ताको जग्गा देखाउँदै उनले भनिन्, ‘म बाँचेसम्म यो जग्गा प्राप्तिका लागि मुद्दा लड्नेछु ।’
यसअघि महानगरका मेयर केशव स्थापितको पालामा पनि उनकी आमा भुन्टी परियारलाई डोजर लगाएर त्यो ठाउँबाट हटाउन खोजेको उनको भनाइ छ । २०५८ सालमा डोजर लगाएर खेद्न खोजेपछि आमा भुन्टी परियारले सडकमै सुतेर बिद्रोह गरेपछि घर भत्काउन सकेनन् । ‘२०५९ सालमा आमाको मृत्यु भएपछि महानगरको डोजर फेरि उनको दैलोमा आइपुग्यो । ‘एक्ली महिला प्रतिकार गर्न आँट आएन, घर भत्काएरै छाडे,’ कृष्णकुुमारीले विगतका दिन सम्झिँदै भन्छिन् । डोजर लगाएर घर भत्काएपछि महानगरमा गएर केशव स्थापितलाई भेटिन् । उनले मुआब्जा दिने निर्णय भएको सुनाउँदै एक प्रति निर्णय कपी पनि दिए । कृष्णकुमारी भन्छिन्, ‘महानगरबाट निर्णय त भयो तर क्षतिपूर्ति त कागजमा मात्रै सीमित भयो ।’
‘महानगरले क्षतिपूर्ति नदिएपछि १० वर्षसम्म अदालत धाए,’ उनले भनिन्, ‘अदालतले क्षतिपूर्ति दिनु भनेर आदेश त दियो तर त्यो पनि अझै कार्यान्वयन भएन ।’ अहिले फेरि मेयर बालेन शाह आए गरिबका लागि होइन रहेछ यी त शासक र शोसकका लागि मेयर भएका रहेछन्,’ उनले भनिन् ।
उनको ‘घर भत्किएपछि भक्कानिएको भिडियो खिचेर धेरैले हाम्रो फोटो बेचे तर, पीडितलाई न्याय खोई भनेर कसैले पनि बोलेनन् ।’ उनी भिडियोवालाप्रति आक्रोसित छिन् । कतैबाट पनि न्याय नपाएपछि राष्ट्रिय मानवअधिकार आयोगमा महानगरले गरेको मानवअधिकार हनन् र बाँच्न पाउने र सम्पत्तिमाथिको हक खोसेकोमा उजुरी लिएर गत फागुनमा २९ गते पुगिन् । आयोगले पनि कुनै काम गरेन । ‘पटक–पटक मानवअधिकार आयोग धाएँ तपाईंको फाइल हेटौंडा गयो भनेर टारे,’ उनले भनिन् ।
महानगरले घर भत्काएयता कृष्णकुमारी तिनकुनेमा घरबहालमा बस्दै आइरहेकी छन् । छोरीले कमाएको पैसामा उनको गुजारा चल्दै आइरहेको छ । जग्गाको तिरो तिरेको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा, नापीले २०३२ सालदेखि अहिलेसम्म गरेको नापी नक्सा लिएर सरकारी अड्डा धाइरहेकी छन् न्यायको खोजीमा । कलेजी रंगको झोलामा गुटमुटाएर सबै कागजको प्रमाण बोकेर हिडेको एक दशकभन्दा बढी भयो तर, उनको हातमा केबल प्रमाण मात्रै बाँकी छ । ‘मलाई लखेट्दा लखेट्दै राज्य थाक्न सक्छ तर, म थाक्दिनँ । अधिकारका लागि सास रहुन्जेल लडिरहन्छु,’ उनले भनिन् ।