
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निमन्त्रणा आउको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत निम्तो पठाएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीको चुनावी कार्यक्रम र विदेश भ्रमणको समेत व्यस्तता रहेको भन्दै प्रचण्डलाई निम्तो दिन ढिला गरेको स्रोतको भनाइ छ । यद्यपि, भ्रमणको तयारी पूरा भएपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, वैशाख अन्तिम साता मात्रै प्रधानमन्त्रीको भारत भ्रमण हुन सक्ने बताइएको छ ।
भारत भ्रमणको निम्तो आए सँगै तेसोपटक प्रधानमन्त्री भएका प्रचण्डको विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि भन्दै तीन दिनअघि परराष्ट्रमन्त्री एनपी साउद नियुक्त भएका थिए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा केही विषयमा सम्झौता हुने जनाइएको छ । कृषि, जलस्रोत र शिक्षालगायत क्षेत्रमा केही सम्झौता हुनसक्ने बुझिएको छ। मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति घोषणा गर्ने र त्यसपछि भ्रमण तालिका सार्वजनिक हुने स्रोतको भनाइ छ।

