सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

निकासखबर संवाददाता

सिरहा । हात्तीको आक्रमणबाट सिरहामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।

छिमेकी घनश्याम आले मगरका अनुसार नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा राति घरनजिकै हात्तीको आक्रमणमा ७४ वर्षीय तुलबहादुर आले मगर परेका थिए ।

सिरहाको उत्तरवर्ती चुरे क्षेत्रमा अवस्थित गोला मुक्सारमा उनीसँगै छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्न निस्केका थिए । घरबाट निस्कनेबित्तिकै बाटोमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा प्रकाश श्रेष्ठ, बमबहादुर थापासहति आफूहरुले भागेर ज्यान जोगाएको सँगै नाच हेर्न गएका हर्कमान राईले बताए ।

इलाका प्रहरी कार्यालय गोलबजारले हात्तीको आक्रमणबाट मृत्यु भएका ७४ वर्षीय तुलबहादुर आलेको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिएको छ । सोही हात्तीले शुक्रबार राति गोलबजार नगरपालिका–३ बुढी जमदहका विजय पासवान, सानो र टोकन पासवानको घर भत्काएको छ । हात्तीले घर भत्काउन थालेपछि आफूहरुले भागेर ज्यान जोगाएको उनीहरुले बताए । हात्तीले अन्न नष्ट गरिदिएको छ ।

तीन महिना यतादेखि एउटा मात्र रहेको हात्ती दिनभर जंगल क्षेत्रमा बस्ने र रात परेपछि बस्ती प्रवेश गरेर दुःख दिने गरेको स्थानीयको दुखेसो छ । यसअघि सोही जंगली हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ जमदह पुरानडिहीका २२ वर्षीय देवप्रसाद सदायको गत फागुन ११ गते मृत्यु भएको थियो ।

मा प्रकाशित