रुपन्देही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँग सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’ यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् ।
‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको छु जसले संविधानअनुसार नागरिकता पाउन सकेका छैनन्, उनीहरूलाई नागरिकताबिहीन बनाएर राख्न सकिँदैन, नागरिकता नहुँदाको पीडा बोध गर्न सक्नुपर्छ, त्यस कारण संविधानअनुसार नागरिकता पाउनेहरूको लागि यसअघि विधेयक बनाइएको थियो, त्यो विधेयक अगाडि बढ्न सकेन, अहिले त्यो विधेयक निष्क्रिय भएको छ, अब त्यसलाई हामी अगाडि बढाउँछौँ,’ मन्त्री श्रेष्ठले भने–’त्यो दिशातर्फ हामी पहलकदमी लिन्छौँ । तर नागरिकताको विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा हामी छौँ । यसमा सबै दलको नेतृत्व, देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको व्यक्तिले उपयुक्त राय दिन जरुरी हुन्छ । सबै पक्षको सहमति कायम गरेर अगाडि बढ्नेछौँ ।’
नेपाल आउने भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी रकम ल्याउन नदिएर समस्या पारेको र क्यासिनो आउने पर्यटकहरूले अवैध तरिकाले रकम ल्याउँदा समस्या परेको विषयमा पत्रकारको प्रश्नमा मन्त्री श्रेष्ठले अहिले चलेको कानूनभन्दा अगाडि जान नसकिने तर पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य राखेकाले यसबारे यसअघिका नीति पुनः विचार गर्न सकिने बताए ।
उनले केही क्यासिनो अवैध तरिकाले चलेको सुन्नमा आएकाले अवैधानिक तरिकाले कसैले काम गर्न नपाउने सरकारबाट कसैलाई भेदभाव नहुने बताए ।