झापा आन्दोलनका अगुवा नेता नरेश खरेलले छाडे एमाले

निकासखबर संवाददाता

झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाका १० जनाले एमाले परित्याग गरेका हुन् ।

खरेल झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट तथा एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका नेता हुन् । उनी सहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका १० जनाले एकै पटक एमाले छाडेको घोषणा गरेका छन् । यसअघि हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए ।

पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै ती नेता तथा कार्यकर्ताले एमाले छाडेको जनाएका छन् । घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गरेपछि खरेल उनीसँगको संवादमा रहेका थिए ।

‘१० बुँदे’ पक्षधर झापाका अन्य नेता तथा कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेशको तयारीमा रहेको र एमालेभित्र असन्तुष्ट धेरैले पार्टी छाड्दै गरेकाे एकीकृत समाजवादीका एक केन्द्रीय नेताले बताए । खरेल पत्नी पवित्रा खरेल भने विदेशमा रहेकाले उनले एमाले छाडेकी छैनन् । खरेल हाल एमाले सल्लाहकार परिषद् सदस्य थिए ।

नेकपा एसका नेता मुकुन्द न्यौपानेले नेकपा एस छोडेर एमालेमा फर्किन लागेका बेला अर्का नेता खरेल भने एमाले छोडेर नेकपा एसमा प्रवेश गर्न लागेका हुन् ।

मा प्रकाशित