रास्वपाका सांसदले स्वास्थ्य मन्त्री बन्न दुई करोड घूस मागेको अडिओ सार्वजनिक

निकासखबर संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएको छ। डा. श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घूस मागेको अडिआयो सार्वजनिक भएको हो ।

उनले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड चाहिने बताएका छन् । अडिओमा उनले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेलाई दुई करोड दिनुपर्ने भएकाले पैसा चाहिएको बताएका छन्। त्यसमा व्यवसायी प्रसाईंले सहयोग गर्न तयार रहेको र स्वास्थ्य मन्त्री भएपछि आफूलाई पनि सहयोग गर्नुपर्ने बताएका छन् ।

सांसद श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाउने व्यवसायी प्रसाईंलाई सुनाएका छन्। उनले भनेका छन्, “दुई-साढे दुई करोड भनेका छन्। अहिले एक करोड दिए पनि मान्छन्। बाँकी पछि चेक दिए पनि मान्छन्।”

त्यसपछि व्यवसायी प्रसाईंले त्यो पैसा सभापति लामिछानेलाई जान्छ कि भनेर सोधेका छन्। त्यसको जवाफमा सांसद श्रेष्ठले सभापति लामिछानेलाई बुझाउनुपर्ने बताएका छन् । सांसद श्रेष्ठको कुरा सुनेपछि प्रसाईंले भनेका छन्, “तपाईलाई मैले के ग्यारेन्टी गरे भने दुई करोड दिने ग्यारेन्टी गरे। पिर नमान्नुस्, उनीहरूसँग टाइम माग्नुस्, म दिने भएँ।”

रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले यो अडिओ आफूले पनि सुनेको बताए। सांसद श्रेष्ठमाथि गम्भिर आरोप लागेकाले पार्टीको अनुशासन कमिटीले साधारण सदस्य र सांसदको रुपमा काम गर्न नपाउने गरि कारबाही गरेको प्रतिक्रिया दिए । अहिले निलम्बन गरेको बताउँदै प्रवक्ता ढकालले भने, “पार्टीको लागि पैसा मागेको भनेर डिल गरेको सुनिन्छ, हामी त्यसमा को को संग्लग्न थिए भनेर बुझ्छौं, त्यहाँ अन्य व्यक्तिको संलग्नता देखिए पनि कराबाही गर्छौ।”

थप अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको उनको भनाइ छ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने र त्यसपछि थप कारबाही हुने ढकालले बताए।

मा प्रकाशित