
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सचिव लेखराज भट्टसँग भेट गरेका छन् । आइतबार सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन गएको अवसरमा धनगढी गेटास्थित भट्टको घरमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए।
भट्टसँग देशको स्थितिको विषयमा सामान्य र राजनीतिक कुराकानी भएको बताउँदै उनले खासै अजेन्डाको रुपमा छलफल नभएको बताए । प्रचण्डले भट्टको घरलाई आफ्नो पनि घर भएको बताउँदै भनेका थिए–‘ यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’
सो क्रममा उनले भने –‘बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो ।’ उनीहरु लामो समयदेखि निकट र एउटै पार्टीमा थिए । तर, तत्कालीन नेकपाको विभाजनपछि भट्ट एमालेमा बसेका थिए ।
भट्टले भने आफू माओवादी केन्द्रमा फर्किने सम्भावना अहिलेलाई नरहेको बताएका छन् । भट्टले भने– ‘पुरानै घरमा फर्काउने अलग विषय हो। त्यसमा अहिले कुनै छलफल भएन। त्यो अहिले सम्भावना छैन ।’ प्रचण्डको भट्ट निवासमा भएको आगमनलाई लिएर उनलाई पुरानै घर (माओवादी केन्द्र) फर्काउने सम्भावनाका विषयमा पत्रकारले सोधेको प्रश्नमा भने भट्टले अस्वीकार गरेकमा छन् ।

