
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको बताएकी हुन् ।
सरकारले फजुल खर्च कटौती गर्न लागेको र विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने विश्वास व्यक्त गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको बताइन् । ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन । यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गराैँ ।’
पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चार जगतका समस्या समाधान गर्न आग्रह गरिन् । उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन । यो लोकतन्त्रका लागि नराम्रो हो ।’ नेपाल पत्रकार महासङ्घको काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गर्न सो अवसरमा उनले प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले विज्ञापन, सदस्य शुद्धीकरण, नवीकरण र पत्रकारका लागि निःशुल्क स्वास्थ्य सेवाप्रति मन्त्री शर्माको ध्यानार्कषण गराए । उनले भने, ‘विज्ञापन बोर्ड पत्रकार बचाउनेभन्दा पनि नियमनकारी भूमिकामा बढी हाबी छ । विज्ञापनका लागि चाकडी गनुपर्ने अवस्थाको अन्त्य नभए अधिकांश सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन् ।’
वार्षिक साधारणसभाका अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार, २०७९ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो ।

