पार्टी पुनर्गठनको उद्घोष गर्दै प्रभाकर कर्णालीमा

निकासखबर संवाददाता

काठमाडौं । पार्टी पुनर्गठनको उद्घोष गर्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर कर्णाली पुगेका छन् । माओवादी पार्टीमा आन्तरिक रुपमा विभिन्न समस्याहरु देखा परेको भन्दै बहस भैरहेको बेला उपमहासचिव ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताउँदै कर्णली पुगेका हुन् ।

देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ । शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए ।

‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो बाहेक माओवादीसँग अर्को विकल्प छैन ।’

शर्माले माओवादी कुनै सेल कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी हुनुपर्ने बताउँदै भने, ‘कुनै पालिका कमिटी होइन माओवादी, पालिकाको उत्पादन कमिटी हुनुपर्छ भन्ने बुझाइलाई आत्मसात् गर्नुपर्ने छ ।’ वर्तमान अवस्थामा माओवादी र जनताबीच बेमेल रहेको माओवादीको निष्कर्ष छ ।

शर्माले आफू यो कार्यकालमा मन्त्री नहुने र पार्टी निर्माणमा लाग्ने कुरा चुनावताका नै बोलिसकेको बताए । शर्मा बिहीबार संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका थिए । नेता शर्माको सक्रियताले पार्टी कार्यकर्ताहरुमा उत्साहको सञ्चार भएको बताइन्छ । शर्मा पार्टीमा खरो र कामकाजी नेताको रुपमा चिनिन्छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित