
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका १ मा मानव कंकाल फेला परेको छ । दोलखा र सिन्धुपाल्चोकको बीचमा पर्ने भैंसे पात्लेखोलाको माथिल्लो भेगमा शव सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको हो ।
कालिञ्चोक १ को तीन हजार मिटर उचाईमा पर्ने भैंसे पात्लेखोलाको माथिल्लो भेगमा मानव कंकाल देखेपछि एक पुरुषले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले घटना मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याएर राखेको छ ।
सो शव कसको हो भन्ने पहिचान हुन सकेको छैन । शव पुरै गलिसकेर कंकाल मात्रै फेला परेको छ भने पहिचान गर्ने आधार उनले लगाएको लुगा र जुत्ता मात्रै भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए ।

