मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ

निकासखबर संवाददाता

विराटनगर । मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाकाे ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिने ५२ जना र झोराहाट, केराबारी र हरैचाबाट गरी ११६ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिदै गरेको ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।  घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको उनकाे भनाइ छ ।

नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अकोश लुईटेलले बताए । सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ । विराटनगर १९ नम्बर वडाको युनि बोर्डिङ स्कुल र सार्वजानिक मावि रहेको छ ।

यस्तै ग्रामथानका गाउँपालिकाको सारदा बोर्डिङ स्कुल, जनक मेमोरियल, ग्रामथान १ को विरेन्द्र मावि, ग्रामथान २ मा रहेको विरेन्द्र मावि, ग्रामथान ३ बाढी मावि, टंकीसिनवारीको नरग्राम माविको विद्यार्थी गरी २ सय ९१ जना विद्यार्थी परीक्षा सरस्वती नमुना माविमा भइरहेको छ । आज पाँचौ दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी भेटिएको उनले बताए ।

‘प्रवेश परीक्षामा फोटो शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए । भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्रअध्यक्ष लुईटेलले भने ।
सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो ।

मा प्रकाशित