सरकार दौडिन छाडेर तुना बानेर बस्यो : गगन थापा

निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताएका हुन् ।

‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर, सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्छ।’

यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको आराेप छ । राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनको सुझाव छ । ‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२–१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं ।’

विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने थोरै भएपनि सुधार आउने उनको विश्वास छ । सरकारले निर्माणको क्षेत्रमा तिर्न बाँकी ६० देखि ८० अर्ब रुपैयाँ मात्र दिने हो भने पनि बजार चलायमान हुने उनले बताए ।

प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताए । ‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ’, थापाले भने ।

प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैँ काम गर्दा एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।

मा प्रकाशित