थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु

निकासखबर संवाददाता

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ ।  महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले जानकारी दिए ।

मङ्गलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन यही कात्तिक २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिए ।

चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य पुजारीसहितको टोली देवचुलीको कीर्तिपुरमा रहेको देवी थानमा बास बस्ने तथा आज बिहान त्यहाँ पूजा सम्पन्न गरेपछि आजै बेलुका देवचुली र वरचुली पहाड बीचको रहेको खोला इनरछतियामा बास बसेर मुख्य पूजाका लागि चैते पूर्णिमाको दिन देवचुली पहाडमा पुग्ने उनले बताए ।

चैते पूर्णिमाको दिन देवचुली पर्वतको चुलीमा रहेको गुफाभित्र शिरथान देवीको पूजा गरेपछि मुख्य पुजारी सहितको टोली फर्किने र जिल्लाका विभिन्न ११ वटादेवी थानमा पुजा गरेपछि पूजा सम्पन्न हुने अध्यक्ष चौधरीले बताए ।

चैते पूर्णिमाको दिन देवचुली पहाडमा रहेको शिरथान माईको पूजा गरिँदै गर्दा तल रहेका ११ वटा देवी थानमा पूजा गर्ने गरिन्छ । त्यसपछि चैते पूर्णिमाको भोलि पल्टदेखि नौ दिनसम्म जिल्लाका विभिन्न गाउँमा रहेका कुवाँरवर्ती माईको शाखा मन्दिरमा पूजा गरिने प्रचलन रहेको छ । पूजाको क्रममा देवी थानमा राँगा, बोका, कुखुराको बलि दिने गरिन्छ ।

हरेकवर्ष पूजा गरिने भए पनि पाँच÷पाँचवर्षमा गरिने पूजाको विशेष महत्व हुने थारु अगुवा बताउँछन् । कन्तरी पूजाको नामबाट प्रचलित यो पूजा पूर्वी नवलपरासीमा रहेको प्राय सबै थारु गाउँमा गर्ने गरिन्छ । परापूर्वकालदेखि नै विशेष गरेर पूर्वी नवलपरासीका विभिन्न ११ वटादेवी थान रहेका गाउँमा कुमारवर्ती माईको पूजा अर्थात कन्तरी पूजा गरिँदै आएको थारु अगुवा कमल गुरौँ बताउनुहुन्छ । शाखा मन्दिरहरुमा पूजा गर्ने अघिल्लो दिन साँझ टिकेत (मूल पुरोहित)को घरमा जम्मा भएर कुवाँरवर्ती माईको कथा सुन्ने तथा सुनाउने गरिन्छ ।

साथै साँझमा टिकेत (मूल पुजारी)ले पूजा सुरु गरेपछि शरीरमा देवी चढेकाहरु काम्ने उफ्रिने गरी रोगव्याधी अन्त्य, कृिषबालीको सुरक्षा, समस्त जगतको सुख शान्ति तथा समृद्धिका लागि परापूर्वकालदेखि कुवाँरवर्ती माईको पूजा गरिँदै आएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित