
काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि एक सन्देश पठाएर पार्टी परित्याग गरेको बताएका थिए । वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन् । उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् ।
वाग्लेले शेखर कोइरालालाई लेखेको पत्रमा सभापति शेरबहादुर देउवा र आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको सन्देशमा उल्लेख गरेका छन् । वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि बताएका छन् ।
वाग्लेले सामाजिक सञ्जाल फेसबुकमा अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ, भनेका छन् ।
उनले आगामी वर्षको सुरुवातमा आफु नयाँ भुमीकाका सकृय हुने बताउँदै लेखेका छन् – सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो भनेर लेखेका छन् ।

