प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गर्याे आन्दाेलनकाे घाेषणा

निकासखबर संवाददाता

काठमाडौं ।   कोशी प्रदेशको नामकरण खारेजीमा माग राख्दै आएको ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आन्दोलन बढाउँदै जाने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि समितिले आन्दोलनका कार्यक्रम बढाउने निणर्य गरेको हो ।

समितिका अनुसार कोशी नाम खारेजीको आन्दोलनमा प्रहरीको कुटाइबाट लिम्बूको मृत्यु भएको विरुद्धमा आज विभिन्न विरोधका कार्यक्रम हुनेछन् । आजै साँझ ५ देखि ६ बजेसम्म विरोध सभा र शनिबार १ देखि २ बजेसम्म चक्का जाम गर्ने समितिले जनाएको छ ।

आफूहरुको माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलनका कार्यक्रमहरु थप्दै जाने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले बताए ।पदम लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न पनि माग गरिएको उनले  बताए । पहिचानबादीको आन्दोलन शान्तिपूर्ण भएको बताउँदै उनले पहिचान विरोधी सत्ता, राजनितिक दलको इशारामा भड्काएको आरोप लगाए ।

यस्तै संघर्ष समितिले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै लाजेहाङलाई सहिद घोषण गर्न मागसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रपूर्वक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं नेपाल प्रहरीले लिनु पर्छ ।’

शान्तिपूर्ण आन्दोलनमा प्रदर्शनकारीको टाउकोमा ताकेर लाठीचार्ज गर्ने हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने र कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता समेत जनाउँदै संयुक्त संघर्ष जारी रहने जनाइएको छ ।

मा प्रकाशित