पहिचान सिहतको प्रदेश नामाकरण हुनुपर्ने मागसहित भएको आन्दोलनका घाइते लिम्बूको निधन

निकासखबर संवाददाता

विराटनगर । कोशी प्रदेशको नामकरणविरुद्ध गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो ।

आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए । मोरङको लालभित्ती घर भएका उनी धरान १५ मा बस्दै आएका थिए ।

टाउकोको देब्रे पट्टी ब्रेनमा खुन जमेपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने भएकोले होस फर्कने प्रतीक्षा गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पहिचानवादी समूहले नाम खारेज गर्न माग गर्दै प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेपछि सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँगको दोहोरो भिडन्तका बेला लाठी चार्जमा लिम्बू घाइते भएका थिए ।

उग्ररुपमा नामकरण विवाद
प्रदेशको नामकरणसँगै पछिल्लो समय पहिचानवादीहरुले चर्को आन्दोलन गर्दै आएका छन् । बृहत् आन्दोलन र प्रदर्शनदेखि मन्त्री सांसदहरुलाई पनि आक्रमणको प्रयास भइरहेका छन् ।

केही समयअघि मात्र प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको थियो ।

उनीहरुले दिनहूँजसो विभिन्न खाले प्रदर्शन र आन्दोलनहरु गरिरहेका छन् । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा राख्नुपर्ने उनीहरुको माग छ ।

मा प्रकाशित