बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो

निकासखबर संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित भएपछि १० गते बस्ने गरी सारिएको हो ।

अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले बताए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनको भनाइ छ ।

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्न आवश्यक रहेको ठहर गरेको थियो । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले समामुखसँग भेट गरी आजको बैठक स्थगित भएको घोषणा गर्न सुझाव दिएका थिए ।

मा प्रकाशित