काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा पालुङटार पुगेर ‘पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृहनगर रहेको गोरखा पालुङटार नगरपालिकाको बिमिरेमा आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका हुन् ।
मंगलबार बिहान बालुवाटारबाटै हेलिकोप्टरमार्फत प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा पुगेको थियो । यो उनको निर्वाचन क्षेत्र पनि हो । प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराई, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद फणिन्द्र देवकोटा र शुरेन्द्र पाण्डे, पालुङटारका मेयर विवश चिन्तन सहभागी थिए ।
यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ ।
वूड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।