सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैनः नेता केसी

निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताएका छन् ।

बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए । भावनात्मकरूपमा महिला भएको भए राम्रो हुने भए पनि कानुनी रूपमा प्रश्न गर्ने ठाउँ नरहेको केसीले उल्लेख गरे ।

अहिलेको मुख्य लडाइँ भनेको मुलुकमा गरिबी रहेको बताउँदै अहिलेको समस्या गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार रहेकाले त्यसका विरुद्ध लड्ने काम सबैको हुनुपर्ने नेता केसीले बताए ।

देश एक प्रकारको सहमतिमा गएको अवस्थामा अबको मुख्य समस्या गरिबी नै रहेको उनले बताए । उनले देशमा देखिएको गरिबी निवारण, बैंकिङ ब्याजदर, लघुवित्त समस्या समाधान गर्न सरकारको ध्यान तत्काल जानुपर्ने बताए । दातृ निकायको सहयोग र ऋणमा देश तथा सरकार चल्नु राम्रो नभएको उल्लेख गर्दै नेता केसीले यसको समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।

मा प्रकाशित