महेन्द्रमोरङ क्याम्पसमा लगायो एमाले अखिलले ताला

निकासखबर संवाददाता

मोरङ । कोशी प्रदेशको ठुलो शैक्षिक संस्था विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ।  क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरुलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिएको आरोप लगाए । प्रशासनले नै कुनै विद्यार्थी संगठनलाई भोट माग्न थालेपछि आफूहरू त्यसको प्रतिकारमा उत्रिएको खनालले बताए।

यता अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले नेविसंघले पराजित मानसिकता बोकेर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पसमा प्रशासनदेखि निर्वाचन समिति नै नेविसंघको पक्षमा देखिएको कारण तालाबन्दी गरेको बताए ।

अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामवली र क्याम्पस प्रशासनले अनेरास्ववियुमा भोट नहाल्न उर्दी जारी गरेको विषयमा छानविन गर्नुपर्ने माग गरेको छ।

मा प्रकाशित