ह्वात्तै बढे सर्लाहीमा सर्पदंशका बिरामी

निकासखबर संवाददाता

सर्लाही  । सर्लाहीमा केही दिनदेखि सर्पदंशका बिरामी ह्वात्तै बढ्न थालेका छन् । प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको हो।

मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठरनौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन् । प्रादेशिक अस्पताल मलङ्वाका प्रमुख डा। नवलकिशोर झाले गर्मी बढेपछि सर्पदंशका बिरामी बढ्न थालेका बताए । गर्मी बढ्न थालेपछि विषालु सर्प अत्यधिक देखा पर्ने गरेका छन् ।

नवलपुर सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले करेत, गोमन, हरियोलगायत विषालु सर्पले टोकेर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेका बताए । सर्पले डस्ने बित्तिकै ल्याइएका बिरामीलाई एन्टिस्नेक भेनम चलाएर उपचार गर्दै आइरहेको भए पनि गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचारका लागि भने समस्या भइरहेको पौडेलले बताए ।

नवलपुर सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर भए पनि चलाउन जान्ने जनशक्ति नहुँदा त्यसै थन्काएर राख्नुपरेको छ। त्यस्तै मलङ्गवास्थित प्रादेशिक अस्पतालमा रहेको आईसीयू र भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा रहेको छ।

मा प्रकाशित