संगठन सुदृढीकरण अभियानमा माओवादी केन्द्र

निकासखबर संवाददाता

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ । झापाको भद्रपुरमा आज एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो ।

अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ ‘विजय’ले उद्घाटन गरे । जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उहाँले जोड दिए । “जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ”, उनले भने, “पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।”

कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे ‘हिक्मत’ ले अभियानका बारे प्रकाश पार्नु भएको थियो । उहाँले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरिकमा नहुँदा अरुले फाइदा उठाइरहेको बताए ।

अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सहइञ्चार्ज पुकार राजवंशी सहीद परिवारका विवेक राई, गुरु घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत गरेका थिए भने सञ्चालन पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष किरण सुब्बाले गरेका थिए ।

अभियान अन्तरगत झापा क्षेत्र नं. ३ (क) मा रहेका स्थानीय तहहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण एवम् वडागत विकासका लागि प्रत्येक वडामा जिल्ला सदस्यलाई जिम्मेवारी समेत तोकिएको नगर अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

मा प्रकाशित