प्रदेश नामकरणको विरोधमा इलाममा तालाबन्दी

निकासखबर संवाददाता

इलाम । ‘कोशी’ प्रदेश नामकरणको विरोधमा संघर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ । पहिचान झल्कने नाम राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

आन्दोलनकारीले माङसेबुङ गाउँपालिका दुई वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुमन लावतीले जानकारी दिए । ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीको समूहले विभिन्न स्थानहरूमा कालो झण्डा समेत गाडेका छन् ।

समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढङ्गले कोशी प्रदेश नामकरण गरिएको भन्दै आफ्नो माग पूरा नभएसम्म कुनै पनि कार्यालय नखोलिने चेतावनी दिए । आन्दोलनकारीले माई नगरपालिका–८ कल्कत्ते वडा कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालय परिसरमा कालो झण्डा गाडेर तालाबन्दी गरिएको स्थानीय हरि अधिकारीले जानकारी दिए । आन्दोलनकारी तालाबन्दी गरेपछि वडा कार्यालयले प्रवाह गर्ने सेवा प्रभावित भएको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनले ‘कोशी’ प्रदेश नामकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

मा प्रकाशित