सडक निर्माणको माग गर्दै विप्लव नेतृत्वको नेकपाले गर्यो चक्काजाम

निकासखबर संवाददाता

काठमाडौं । सडक निर्माणको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चक्काजाम गरेको छ। तुलसीपुर–घोराही चार लेन सडकखण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै नेकपा तुलसीपुर नगर समितिले आइबार बिहान ११ बजेदेखि तुलसीपुरको हात्तीखौवामा आधा घन्टा चक्काजाम गरेको हो।

चक्काजामका कारण सर्वसाधारण आधा घन्टा सडकमै रोकिनु परेको थियो । तुलसीपुर–घोराही सडकखण्ड समयमै निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै चक्काजाम गर्नु परेको उक्त पार्टीका एक नेताले बताए । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ । यो पनि पुरै चारलेन छैन। कतै चारलेन त कतै दुईलेन बनाउने सम्झौतामा उल्लेख छ।

सन् २०१९ जनवरी २८ मा सम्झौता हुँदा ३३ महिनामा सडक निर्माणको काम पूरा गर्नुपर्ने उल्लेख छ। तर हालसम्म भौतिक प्रगतिको काम १० प्रतिशत पनि हुन सकेको छैन। सडकको दायाँ बाँया खनेर भत्काइएको हुँदा यो सडक खण्ड पछिल्लो समय निकै जोखिम युक्त बनेको छ ।यो अवधिमा मात्रै २५ जना बढीको सवारी दुर्घटनामा मृत्यु भइसकेको प्रहरी बताउँछ। सुख्खा मौसममा धुलाम्मे र बर्षामा सडक खण्ड हिलाम्मे हुने गर्छ। तथ्यले हालसम्म पेटी ठेकेदारमार्फत काम गर्दै आएको छ। तर पछिल्लो समय भने काम ठप्प रहँदै आएको छ। यो बीचमा ६ जना पेटी ठेकेदार परिवर्तन भइसकेका छन् ।

गत माघदेखि भैरहवाका निर्माण व्यवसायी सुनिलजंग रायमाझीले काम गर्ने बताइएको भएपनि हालसम्म उनले काम अगाडि बढाएका छैनन् । यसअघि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उनकै कम्पनीले बनाएको थियो। यही अन्यौंलका बीच नेकपाले छिटो सडक खण्ड निर्माण गर्न माग गर्दै चक्का जाम गरेको हो। छिटो सडक निर्माणको माग गर्दै यस्ता विरोधका कार्यक्रमहरु समय समयमा हुँदै आएको भएपनि सरोकार वाला निकाय भने मौन पराय बस्दै आएका छन्।

मा प्रकाशित