बारा र पर्सामा छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

निकासखबर संवाददाता

वीरगन्ज । बारा र पर्सामा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा एक भारतीय सहित तीन जनाको मृत्यु भएको छ। बाराको कलैया उपमहानगरपालिका-१४ हनुमान मन्दिरस्थित सडकमा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कलैया-९ रामपुरका ३५ वर्षीय रहिम अन्सारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक कलैया १४ का २५ वर्षीय सागर चौधरीलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बोगटीले बताए । यस्तै बाराकै सुवर्ण गाउँपालिका-६ धरमपुरमा फागुन १५ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भारतीय नागरिकको पनि उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा भारत बिहारको छौडादानो घर भएका २७ वर्षीय भैयाराम साह रहेका छन् ।

फागुन १५ गते राति भारतबाट बाराको जोलगावातर्फ आउँदै गरेको बीआर ०५ एजी १२८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक भैयाराम र त्यसमा सवार छौडादानाकै ३४ वर्षीय सन्देश साह घाइते भएका थिए । दुवैको प्रसौनी स्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शनिबार भैयरामको मृत्यु भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

पर्साको वीरगन्जमा पनि शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका-५ मसिहानी घर भएका ४५ वर्षीय चोकट मुखिया बिन रहेका छन् । घाइते पोखरिया नगरपालिका-३ फुलवरिया घर भएका ३९ वर्षीय विश्वजित राउत गिरिको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

वीरगन्जबाट पोखरिया जाँदै गरेको ना ४२ १७५९ नम्बरको मोटरसाइकल वीरगन्ज-९ स्थित सडकमा आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसमा सवार बिन र गिरि घाइते भएका थिए।
घाइते दुवै जनालाई शुरुमा उपचारका लागि पोखरिया अस्पतालमा लगिएकोमा त्यही उपचारका क्रममा बिनको शुक्रबार राति नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

मा प्रकाशित