होलीलाई लक्षित गरेर धनुषामा ५६० जना प्रहरी परिचालन

निकासखबर संवाददाता

धनुषा । होलीलाई लक्षित गरेर धनुषा जिल्लामा ५६० जना प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट ४८७ र प्रदेश प्रहरी कार्यालयबाट ७३ जना गरी कूल ५६० जना प्रहरी परिचालन गरिने भएको हो ।

विशेष सुरक्षा योजना बनाएर सो संख्यामा प्रहरी परिचालन गरिने धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले होली पर्वलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको बताए । होलीमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कतामा राखिएको उनले जानकारी दिए ।

उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ । एसपी खड्काले पारिवारिक हिसावमा होली पर्व मनाउन सबैमा अनुरोधसमेत गरेका छन् । होलीको नाममा होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारबा​ही गरिने उनले बताए । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने उनको भनाइ छ । ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्ने उनले बताए ।

यसैबीच मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै धनुषा सुरक्षा समितिले जनकपुरधाम नगर क्षेत्रमा होलीका दिन मासु, मदिरा बिक्री वितरणमा पूर्णरुपले निषेध गरेको छ । जनकपुरधाममा बुधबार होली मनाइनेछ । जनकपुरधाममा १५ दिनसम्म चल्ने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्टमात्र होली मनाउने परम्परा छ । त्यही परम्पराअनुसार एक दिन ढिलो गरी यहाँ होली मनाइने भएको छ ।

परिक्रमाको अन्तिम दिन जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेपछि होली सुरु हुने परम्परा छ । सोमबार मध्यरातबाट अन्तरगृह परिक्रमा सुरु भई मंगलबार समाप्त हुन्छ । त्यसैले परिक्रमा सकिएको भोलिपल्ट अर्थात् बुधबार मात्र जनकपुरधाममा होली मनाइने भएको हो

मा प्रकाशित