लोकप्रिय बन्न सस्ता, मिठा कुरा नगर्न व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

निकासखबर संवाददाता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरु माझ लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाइ आग्रह गरेका छन् ।

शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरु माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेबार भएर कुरा उठाउन पनि आग्रह गरेका हुन् ।

निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि व्यवसायीहरु माझ गैर जिम्मेबार भई जथाभावी बोल्नु नहुने बताउँदै उनले पपुलर हुनकै लागि बैंकको ऋण र व्याज तिर्दिन भन्ने कुरा गर्नु गलत भएको बताए । उनले बैंकमा भएको निक्षेप पनि जनताको भएको जनाउँदै व्यवसायीहरुले यस्तो गैर जिम्मेबार कुरा बोल्नु नहुने बताए ।

केही व्यवसायीहरुले महासङ्घको निर्वाचनलाई लक्षित गरी पपुलर कुराहरु गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्ने उनको भनाइ छ । कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको जानकारी गराए ।

कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र नभएर विश्व अर्थतन्त्रमा नै समस्या देखिएकोले त्यसैको प्रभाव स्वरुप नेपालको बैंकिङ्ग क्षेत्रमा तरलता अभाव सुरुभएको र बैंकको कर्जाको व्याज दर बढ्न गएको बताउँदै उनले अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरु सकारात्मक हुन थालेको संकेत देखिएकाले व्यवसायीहरुलाई नआत्तिन र नहडबडाउन उनले आग्रह गरे ।

आर्थिक संकटको कारण देखाउँदै केही व्यवसायीहरुले आत्महत्या गरेको तर्फ इङ्गित गर्दै ढकालले व्यावसायिक यात्राका क्रममा धेरै सहज र असहज परिस्थितिहरु आउने हुँदा त्यस्तो चुनौतिहरु सामना गर्दै अगाडि बढ्न व्यवसायीहरुलाई सुझाव समेत दिए । उनले बैंकको व्याजदरको विषयमा महासंघको तर्फबाट आफूहरुले राज्यका विभिन्न निकायमा पटकपटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषयहरू सम्बोधन गरेको र वातावरण सहज बन्दै गएको बताए ।

एउटा बैंकको सञ्चालक भएको नाताले आफू उपस्थित हुने धेरै कार्यक्रमहरुमा पटक पटक बैंकको व्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको बताए ।

धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने व्याजदर घट्न सक्छ भन्ने लागेको तर यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा नभएको उनको भनाइ छ । व्याज दर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरुको प्रभाव रहने र निक्षेपको व्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको उनले बताए ।

 

मा प्रकाशित