
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ। नेपालमा पहिलो पटक एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई वटा मिर्गौला र एउटा कलेजो गरी तीन वटा अङ्ग प्रत्यारोपण गरिएको हो ।
भक्तपुरको एक अस्तपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको केन्द्रमा शल्यक्रिया गरेर मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा मस्तिष्क मृत्यु भएका व्यक्तिको फागुन १६ गते रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिराहाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण तथा ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको उनले बताए । अंग प्रत्यारोपण गरिएकाहरुको हाल स्वास्थ्य स्थिति सामान्य रहेको उनले जानकारी दिए ।
कलेजो तथा मिर्गौला प्रत्यारोपण डा. श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा।ललित दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सक र मिर्गौला प्रत्यारोपणमा प्रा.डा. राकेशकुमार बर्मा, प्रा.डा. पवन चालिसे, डा. दीपेश श्रेष्ठ डा. रविकिरण गौतम, डा. हरि बराल, डा. रोजन अधिकारीलगायत विशेषज्ञ चिकित्सकको सहभागिता थियो।
मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि डा. रवीन्द्र प्रधानाङ्ग, डा. आहना श्रेष्ठ, सुधन के.सीलगायत समाजसेवी, सामाजिक अभियन्ता साथै बिरामीका परिवारको समेत पहलले यो कार्य सम्भव भएको डा. पुकारले बताए ।अङ्ग प्रत्यारोपणका लागि कानुन बने पनि कार्यान्वयनमा सोचे जस्तो सफलता पाउन नसेकको प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । उनका अनुसार यसको मुख्य कारण जनचेतनाको कमी नै हो । मृत्युपछि गाडेर वा जलेर खरानी भएर जाने हाम्रो अङ्गदान गर्नसके एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई वटा मिगौला, दुई वटा फोक्सो, एक वटा कलेजो, एक मुुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी आठ जना व्यक्तिमा प्रत्यारोपण गर्न सकिने डा. पुकारको भनाइ छ । यसरी अङ्ग दान भए नेपाल प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने उनले दाबी गरे ।
केन्द्रका अनुसार २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएको थियो। हालसम्म पाँच जना व्यक्तिका अङ्गबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो गरी १३ जनामा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपण भएको छ।
मस्तिष्क मृत्यु हुने व्यक्तिले आफू जीवित हुँदा मृत्युपश्चात् अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्युपश्चात् निजको शरीरबाट अङ्ग दान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ।
नेपालमा वार्षिक एक हजार जनाको मस्तिष्क मृत्युहुने अनुमान गरिएको छ।मस्तिष्क मृत्यु भएको बेला अन्य अङ्ग केही घण्टा चलिरहन्छन्।त्यो बेलामा परिवारको मन्जुरीमा खेर जाने अङ्ग दान गर्न सकिन्छ।कानुनी रुपमा प्रक्रिया पूरा भयो भने अङ्गदान गर्न मिल्छ।

