कक्षाकोठा अभावमा एउटै कक्षामा दुई शिक्षिकाले पाढाउँदै

निकासखबर संवाददाता

गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको हो ।

यसरी एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन् ।

हामी त बाध्य भएर यसरी पढाउँदै छौँ तर, विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुने गरेको उनको भनाइ छ ।

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ । सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन् । आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए । नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनको भनाइ छ । कूल रु ५० लाखको लागतमा भवन बनाइँदैछ । रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित