कांग्रेस–एमाले दुवैले प्रतिपक्ष बेन्च खोज्दा संसद् बैठक प्रभावित

निकासखबर संवाददाता

काठमाडौं । संघिय संसदमा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक प्रभावित बनेको छ । दुबैदलले प्रतिपक्ष बेन्च खोजेका कारण बैठक प्रभावित भएका कारण संसद् सचिवालयले संसदको बैठक समेत सारेको छ ।

बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको हो ।

दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका थिए।

त्यसअघि सभामुख देवराज घिमिरेले कांग्रेस र एमालेका संसदीय दलका नेता उपनेता र प्रमुख सचेतकहरूसँग टेलिफोनमार्फत कुराकानी गरेका भए पनि त्यस क्रममा कांग्रेसका प्रमुख सचेतक समेत रहेका रमेश लेखक र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू संसद्को प्रतिपक्ष बेन्चमै बस्ने सभामुखलाई जानकारी गराएका थिए ।

नेम्वाङपछि सभामुख घिमिरेले कांग्रेस नेतासँग कुरा गर्दा कांग्रेस नेताहरूले पनि आफूहरू सरकारमा गइनसकेकाले प्रतिपक्षमै बस्ने जानकारी दिएको सभामुख निकट स्रोतले जनाएको छ । यसरी दुवै दलले प्रतिपक्षको बेन्च रोजेपछि व्यवस्थापन गर्न समेत असहज हुने भएकाले बैठक नै स्थगित गरेर सभामुखले निकास खोज्नतिर लागेका छन् ।

आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । फागुन १३ गते राष्ट्रपति निर्वाचनको कार्यक्रम सुरु भएपछि एमालेले सरकार छोडेर प्रतिपक्षमा पुगेको छ भने यसअघि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो । तर अहिले कांग्रेस सत्ता गठबन्धनमा गए पनि सरकारमा गइसकेको छैन ।

संसदीय मामिलाका जानकारहरू यसरी आन्तरिक व्यवस्थापन नै गर्न नसकेर संसद् बैठक प्रभावित हुनु लाजमर्दो विषय भएको बताउँछन् । पूर्व सभामुख दमननाथ ढुङ्गानाले आन्तरिक व्यवस्थापन गर्न नसकेर बैठक धकेलेर थिति बसाल्नुपर्नेहरु नै थिति बिगार्नतिर लागेको बताए ।

उनले यसले सार्वभौम जनताको जनप्रतिनिधित्व गर्ने संस्था सांसदकै अपमान गर्न खोजिएको आफूलाई महसुस भएको बताए ।

मा प्रकाशित