११ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण

निकासखबर संवाददाता

काठमाडौं । संघीय संसदमा निर्वाचित भएको ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ११ जना सांसदले अझै बुझाएका छैनन् ।  सघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ।

यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङसमेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा,अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्।

त्यसैगरी, नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरीसहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महिन्द्रराय यादव रहेको स्रोतले जनाएको छ।

यसैगरी, राप्रपा नेता एवं ज्येष्ठ सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण बुझाएको देखिएको छैन । सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ।

मा प्रकाशित