राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी

निकासखबर संवाददाता

काठमाडाैं ।  निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको  माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनका लागि  आचारसंहिता जारी गर्न लागेकाे हाे  ।

निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेकाे  प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

आयोगको निर्णय बमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्‍ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ता भइसकेको छ भने आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्ने र तत्पश्चात आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

मा प्रकाशित